नियतिको अँध्यारोमा मिल्किएको गलकोट दरबार, गिज्याउँछ संरक्षणविहीनताले !

0
176

बागलुङ । कुनै दिन गलकोट दरबार बिरुप भए अचम्म नमान्दा हुन्छ । इतिहासको साक्षी दरबारको सौन्दर्य विस्तारै नासिँदैछ । चौबिसे राज्यका पालाको शक्तिशाली दरबार अहिले आफ्नै अस्तित्व सङ्कटबाट गुज्रेको छ । उबेलाको सेतो दरबार धुमलिएर उजाड छ ।

प्रवेशद्वारबाटै दरबारको दुर्दशा सुरु हुन्छ । पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार छिर्दा अवस्था झनै छर्लङ्ग हुन्छ । संरक्षणविहीनताको अवस्थामा पुगेको दरबारले मानिसलाई गिज्याएझैँ भान मिल्छ । दरबार नियतिको अँध्यारोमा मिल्किएको छ । प्रवेशद्वार भताभुङ्ग छ । पर्खाल र सिँढीका ढुङ्गाले ठाउँ छाडेका छन् ।

पोखरी पनि सौन्दर्यहीन छ । बगैँचामा फूल छैनन् । दरबारका झ्याल, ढोका र बुइँगल मक्किएका छन् । कोठा र भित्ताको रङ्ग हराएको छ । छानो जीर्ण छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबार सुनसान छ । करिब पाँच रोपनी जग्गामा फैलिएको कुनै बेलाको हराभरा दरबार क्षेत्र अहिले यसै उराठ छ ।

विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो । तत्कालीन राजा थिए । त्यहीबाट गलकोटको राजकाज चल्थ्यो । त्यो बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय ग¥यो । त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लाने गलकोटकै राजा भरतबम मल्ल थिए । उनी २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत भएका थिए ।

गलकोट राज्य नरहे पनि तत्कालीन राजपरिवार दरबारमै बस्थे । दरबारको रेखदेख, संरक्षण गर्थे । समय बित्दै गयो । व्यवस्था फेरिँदै गए । दरबार पनि पुरानो भयो । विसं २०३९ मा राजा भरतबमको निधन भयो । दरबार संरक्षणको जिम्मा नाति माधवबममा स¥यो । परिवारसहित दरबारमा बस्दै आएका उनको सशत्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्षबाट हत्या भयो । माधवबम त्यतिबेला शिक्षण पेशामा आबद्ध थिए ।

विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ स¥यो । दरबारमा बस्ने, रेखदेख गर्ने कोही भएनन् । दरबारका दुर्दिन सुरु भए । “द्वन्द्वको मारमा परेपछि दरबारको नियमित रेखदेख, संरक्षण हुन सकेन”, माधवबमका छोरा मञ्जेशबमले भने, “दरबारमा नराम्रो घटना भयो, दरबारका ऐतिहासिक दस्तावेज, सामग्री सबै लुटिए ।”

दरबार अहिले मञ्जेशबमकी आमा सरोजा मल्लको नाममा छ । बेलाबेलामा गलकोट आउँदा सरोजा र उनको परिवार दरबारमै बस्छन् । “हाम्रो स्वामित्वमा रहे पनि दरबार संरक्षण गर्न खोजेका छौँ, विविध कारणले ढिला भइरहेको छ”, मञ्जेशबमले भने, “डिपिआर बनाएर संरक्षणको काम थाल्ने योजना छ ।” पुरातात्विक हिसाबले जीर्णोद्धारसहित दरबारको उचित संरक्षण गरिने उनले जानकारी दिए ।

विसं १९८९ मा बनेको दुई तले दरबार ढुङ्गा, इँटा र काठ प्रयोग गरेर बनाइएको छ । दरबारको वरिपरि प्रयाप्त खुला ठाउँ छ । राज्य चलाउँदा बसेका चौकी, अड्डा र मालका भवनसमेत अझै छन् । दरबारको पछाडि नारायण मन्दिरसहित शीतलपाटी र ठूलो बगैँचा छ । मन्दिरमा नियमित पूजाआजा हुन्छ ।

दरबारअघिको मौलोमा मल्लहरुले कूलको पूजा गर्छन् । वर्षेनी दशैँको नवमीमा विशेष पूजाआजा हुने गरेको वडाध्यक्ष नारायणध्वज मल्ले बताए । उनले दरबारको संरक्षणका लागि वडाले उचित पहल गर्न नसकेको स्वीकार गरे । “यो वर्ष केही गर्न सकिएन, अर्को वर्ष वडाले सम्बोधन गर्छ”, उनले भने । गलकोट दरबारलाई सार्वजनिक गर्नुपर्ने आवाज पनि नउठ्ने गरेको होइन । सरकारले संरक्षणको सुनिश्चितता नगरेसम्म स्वामित्व हस्तान्तरण गर्ने पक्षमा मल्ल परिवार छैन ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले दरबार व्यक्तिगत सम्पत्तिका रुपमा रहेका कारण लगानी गर्न असजिलो परेको बताए । “दरबार हाम्रो ऐतिहासिक धरोहर हो, यसको संरक्षण हुनुपर्छ”, उनले भने, “मल्ल परिवारले पनि सामान्य मर्मतसम्भार सुरु गरेको छ, निजी क्षेत्रमा गर्न सकिने सहयोगको कानूनी आधार र उदाहरण हेरेर दरबार संरक्षणमा नगरपालिका जोडिन्छ ।”

उचित संरक्षण गर्नसकेमा दरबार पर्यटकीय केन्द्र बन्नेमा कुनै शङ्का छैन । जीर्ण अवस्थामा पनि दरबार पर्यटकको रोजाइमा छ । पर्यटकीय याम र सार्वजनिक बिदाका दिनमा दरबार घुम्ने धेरै हुन्छन् । ऐतिहासिक महत्व बोकेको भएका कारण विद्यार्थी, अनुसन्धानकर्ताका लागि गलकोट दरबार उपयुक्त गन्तव्य मानिन्छ ।

गलकोट तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली राज्य मानिन्थ्यो । हरिचौरमा दरबार बन्नुअघि मल्ल राजाहरुले हरिचौरकै सर्दाखेत, वडा नं ३ हटियाको राजघरा र कोतघरबाट स्वतन्त्र गलकोट राज्य चलाएका थिए । राजा भरतबम विसं १९९० मा सर्दाखेतबाट हरिचौरको दरबारमा सरेको इतिहासमा उल्लेख छ । गलकोट राज्यका पहिलो राजा जितारी मल्लले विसं १६३१ मा हटियास्थित कोतघरबाट पहिलोपटक शासन सुरु गरेका थिए । त्यसयता मल्ल राजाहरुले सोही कोतघरबाट २१३ वर्षसम्म राज्य चलाएका थिए ।

विसं १८४४ मा गलकोट राज्य गोरखा राज्यमा एकीकरण भएपछि गलकोटमा रजौटाको शासन शुरु भयो । नेपालको एकीकरणपश्चात मल्ल राजा हटिया बजार नजिकको राजघरा हुँदै वडा नं ५ हरिचौरको सर्दाखेत सरेका थिए । विसं १९६८ को अन्त्यतिर राजा नारायणबम मल्लको निधन भएपछि भरतबम मल्ल गलकोट राज्यका अन्तिम राजा भएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्