पर्वतको फलामखानी उत्खननमा आफैँ कस्सियो विभाग

0
19

पर्वत । झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी उत्खनन प्रक्रिया सुरु भएको छ ।

खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँ आफैँले खानीको उत्खनन प्रक्रिया सुरु गरेको हो । विभागले चालू आर्थिक वर्षमा फलामखानीको विस्तृत सर्वेक्षण थालेको छ । त्यसका लागि विभागका वरिष्ठ भूगर्भविद् ठाकुर कँडेल, भूगर्गविद् प्रकाश पोखरेलसहितको टोलीले एक सातादेखि अध्ययन गरिरहेको छ । टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गणस्तर के–कति छ भनेर अध्ययन गरिरहेको भूगर्भविद् पोखरलेले जानकारी दिए ।

उनका अनुसार इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी) को माध्यमबाट अध्ययन अनुसन्धानकोे काम भइरहेको छ । अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमीनमुनि भएको पाइएको छ ।

दुईदेखि आठ मिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको छ । टोलीले नमूना सङ्कलन पनि गरिरहेको पोखरेलले बताए । उनले भने, “यहाँको परिमाण र गुणस्तरका बारेमा विस्तृत अध्ययनको प्रतिवेदनपछि अगाडिको काम सुरु हुन्छ ।”

यहाँ दुई किलोमिटर लम्बाइमा खानी फैलिएको देखिन्छ । उनका अनुसार अध्ययनकै क्रममा रहेकाले विस्तृत विवरण आइसकेको छैन । विभागको मानदण्डअनुसारको प्रतिवेदन आएमा फलामखानी उत्खनन प्रक्रिया सुरु हुन्छ । पोखरेलले भने, “यस वर्ष विस्तृत सर्भे गर्छौँ, सबै प्रतिवेदन सकारात्मक आएमा अर्को आर्थिक वर्षदेखि उत्खननको काम शुरु हुन्छ ।”

नेपाल सरकारले बन्द रहेका फलामखानीको उत्खननमा तदारुकता देखाएसँगै कँडेल नेतृत्वको टोलीले सम्भावित क्षेत्रहरुमा अध्ययनलाई तीव्रता दिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए । धुँवाकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच विसं २०६७ पुस ८ मा सम्झौता पनि भएको थियो । उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले नै काम सुरु गरेको पोखरेलले बताए ।

उक्त फलामखानी सदरमुकाम कुश्माबजारबाट झण्डै ४० किलोमिटरको दूरीमा रहेको छ । महाशिलाको लुङ्खु र फलामखानी क्षेत्रमा फैलिएको उक्त खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयवासीले माग गर्दै आएका थिए ।

पछिल्लो समय गाउँपालिकाले पनि खानी सञ्चालनका लागि चासो देखाएको थियो । सत्तरी वर्ष अघिदेखि यहाँ स्थानीयवासीले फलाम उत्खनन गर्दै आएका थिए । यहाँको फलाम अन्यत्रजस्तो प्रशोधन गर्नुपर्ने नभएको पाकापुस्ताको भनाइ छ । खानीबाट निकालेको फलाम सिधै तताएर आवश्यक सामग्री बनाउन सकिन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्