मुसर्रफलाई मृत्युदण्ड दिने अदालतको निर्णयले धक्का लागेको छ : पाकिस्तानी सेना

0
133

पाकिस्तानी सेनाले आफ्ना पूर्वप्रमुख परवेज मुसर्रफलाई मृत्युदण्ड दिने अदालतको निर्णयप्रति आपत्ति जनाएको छ।

‘जनरल परवेज मुसर्रफविरूद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको छ’,सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्,‘पूर्वराष्ट्रपति समेत रहेका जनरल मुसर्रफले ४० वर्ष देशको सेवा गरे र उनीविरूद्धको फैसलाले संविधानको उपेक्षा गरेको छ।’

देशको रक्षाको लागि लडाइँ लड्ने देशद्रोही हुनै नसक्ने भन्दै प्रवक्ता गफूरले भनेका छन्, ‘जुन व्यक्तिले देशको रक्षाको लडाइँ लड्यो त्यो कहिल्यै देशद्रोही हुन सक्दैन। अदालतले आफ्नो बचाऊ गर्ने मौका पनि दिएन जुन आधारभूत अधिकार हो। बिनाठोस सुनुवाइ हतारमा फैसला सुनाइयो।’

इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७ मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको थियो।

तीन जना न्यायाधीशहरूको इजलासले पूर्वसैनिक शासक मुसर्रफलाई उक्त सजाय सुनाएको हो।

मुसर्फरका पक्षले भने फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ।

सर्वोच्चले पनि यो फैसला सदर गरेमा राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै मृत्युदण्डको सजाय माफ गर्न सक्छन्।

पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला सुनाएको यो पाकिस्तानको पहिलो घटना हो।

जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा छन्।

मुसर्रफलाई दुई पटक पाकिस्तानी संविधानको उल्लंघन गरेको आरोप लागेको थियो। पूर्वप्रधानमन्त्री नवाज सरिफले मुसर्रफमाथि लागेको आरोपको सुनुवाइ गर्न विशेष अदालत गठन गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्