नागरिकता कानुनविरूद्ध कन्हैया कुमारले घन्काए ‘आजादी’ नारा

0
73

भारतमा नागरिक कानुनविरुद्ध चर्किएको आन्दोलन क्रममा भारतीय कम्युनिस्ट पार्टीका नेता कन्हैया कुमारले आफ्नो बहुचर्चित ‘हम लेके रहेंगे आजादी’ भन्ने नारा घन्काउँदै दसौं हजारको प्रदर्शन गरेका छन्।

नयाँदिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडपछि कन्हैया कुमारले उक्त प्रदर्शन गरेका हुन्।

कन्हैया दिल्लीकै जवाहरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी संगठनका पूर्वअध्यक्ष हुन्। उनले त्यही विश्वविद्यालयबाट पिएचडी गरेका थिए।

नागरिकता कानुनविरुद्ध सोमबार पूर्णियामा भएको विशाल प्रदर्शनमा कन्हैयाले जामिया मिलिया विश्वविद्यालयमा प्रहरी धरपकडको विरोध गरे। उनी मञ्चमा उभिएर ‘गान्धीवाली’, ‘बिस्मिलवाली’ ‘भगत सिंहवाली’ भन्थे, जवाफमा हजारको भिड ‘आजादी’ भन्दै नारा लगाउँथे।

कन्हैया कुमारले उक्त प्रदर्शनको भिडिओ आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्। उनी नरेन्द्र मोदी सरकारको प्रखर आलोचकका रूपमा चिनिन्छन्। मोदी सरकारले हिन्दुत्वलाई बढावा दिएर देशलाई जातीय र धार्मिक रूपमा विभाजित गरेको भन्दै उनले विरोध गर्दै आएका छन्। पछिल्लो लोकसभा निर्वाचनमा बिगुलसराय निर्वाचन क्षेत्रबाट उनी पराजित भएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्