कृष्णनगरमा लगाइएको निषेधाज्ञा अझैं जारी

0
28

बिहीबार विहान ११ बजेदेखि कपिलवस्तुको कृष्णनगरमा लगाईएको कर्फ्यू आदेश अहिलेपनि जारी रहेको छ।

तिहारको लक्ष्मीपूजाको लागि स्थापना गरिएको लक्ष्मीमाताको मूर्ति विसर्जनको क्रममा दुई समुहविच उपन्न विवाद पछिको अवस्था नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुँदासम्मको लागि भन्दै निषेधाज्ञा लगाएपछि निषेधाज्ञा हटाइएको सूचना जारी गरेको छैन। कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दीप शमसेर जबराले बिहीबार विहान लगाइएको निषेधाज्ञा अहिलेपनि जारी रहेको बताए ।

लक्ष्मीमाताको मूर्ति विसर्जन गर्न लैजाने समुह र स्थानीयकाबिचमा मूर्ति लगिएको रुटको विषयमा विवाद उत्पन्न भएको थियो।

सामान्य विषयमा भएको विवादले उग्ररुप लिएपछि उत्पन्न परिस्थितीलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका भारतीय नागरिक २० वर्षिय सुरज पाण्डेको मृत्यु भएपछि अवस्था झनै तनावग्रस्त बनेको थियो।

गोली लागेर मृत्यु भएका पाण्डेको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको प्रहरी उपरिक्षक जवराले सेतोपाटीलाई जानकारी दिए।

पाण्डेको शवलाई पोष्टमार्टम गरी परिवारलाई बुझाएर परिस्थितिको आँकलन गरेपछि निषेधाज्ञाबारे अर्को निर्णय गरिने उनले बताए।

‘मृतकको शव जिल्ला अस्पताल तौलिहवामा पोष्टमार्टमको लागि राखिएको छ, मृतककी आमा तथा परिवारका अरु सदस्यहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ’ उनले सेतोपाटीसँग भने ।

स्थानीय हिन्दु समुदायले लक्ष्मीपूजाको लागि स्थापना गरेको लक्ष्मीमूर्ति बुधवार साँझ विसर्जन गर्न लैजांदै गर्दा मुश्लिम समुदायसंग विवाद उत्पन्न भएको थियो।

बुधबार सांझबाट उत्पन्न विवादलाई बिहीबार विहानसम्म मिलाउने प्रयास गरिएपनि विवाद झनै बढेपछि कर्फयु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

स्थानीय प्रशासनले जारी गरेको सूचना अनुसार कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मीटर उत्तर, पश्चिम तर्फ ७ सय मीटर र पूर्वतर्फ ३ सय मीटरसम्म अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे लगत्तै कृष्णनगर बजार क्षेत्रमा प्रदर्शनमा उत्रिएको समुहमाथि प्रहरीले गोली प्रहार गर्दा पाण्डेको मृत्यु भएको थियो।

प्रदर्शनमा उत्रिएको समुहले प्रहरी माथी ढुंगामुढा तथा बोत्तर प्रहार गर्दै ट्राफिक प्रहरी पोष्टमा आगजनी गरेका थिए। झडपमा परी केहि प्रहरी र प्रदर्शनकारी घाईते भएको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बुधवार राती देखि नै दर्जनौं राउण्ड अश्रु ग्यांस प्रहार गरेको थियो ।

घटनालाई साम्य पार्न प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख दीप शमशेर जबरा, शशस्त्र प्रहरी प्रमुख जनक पुरी लगायतको टोली विहिबार रातीसम्म नै प्रयासरत भएपनि प्रदर्शनकारीसंग वार्ता र संवाद अघि बढ्न नसकेको बताईएको छ ।

भारतिय सिमासंग जोडिएको र यसअघि पनि यस्तै प्रकारका घटनाहरु भईरहेकोले थप हिंसा भड्कन नदिन नेपाल प्रहरी र शशस्त्र प्रहरीको ठुलो टोली घटना स्थलमा परिचालन गरिएको छ । अहिले कृष्णनगर बजार क्षेत्र सुनसान रहेको छ । बजारका कुनैपनि पसल खुलेका छैनन् भने सडकमा सर्वसाधारणको आवतजावत ठप्प छ ।

गतवर्ष पनि बडादशैंको दुर्गामूर्ति विसर्जन गर्न लैजादै गर्दा रुटको विषयलाई लिएर कार्तिक ४ गते स्थानीय दुई समुहका विचमा विवाद हुंदा झडपको स्थीत उत्पन्न भएको थियो । गतवर्ष पनि विवादले उग्ररुप लिएपछि प्रहरीले अश्रुग्यांस, हवाई फायर र लाठीचार्ज गरी स्थीत साम्य पारेको थियो।

गतवर्ष उत्पन्न विवादलाई मध्यनजर गर्दै यसवर्ष दुर्गा मूर्ति विसर्जन गर्दा स्थानीय प्रशासन, विभिन्न राजनितिक दल तथा हिन्दु तथा मुश्लिम समुदायका अगुवाहरुका विचमा छलफल र सहमती गरि रुट तय गरिएको थियो । सोहि अनुसार दुर्गामूर्ति विसर्जनको क्रममा कुनैपनि विवाद उत्पन्न भएको थिएन।

बुधवार पनि मूर्ति विसर्जनको लागि दुर्गामूर्ति लैजाने सहमती गरिएको बाटोबाटै स्थानीयहरुले राजमार्ग नजिकै रहेको बढैया पोखरीमा लक्ष्मीमूर्ति विसर्जन गर्न लैजादै थिए।

बाजागाजा सहित मूर्ति विसर्जनको लागि गएको ठूलो संख्याको भिड सहितको र्‍याली उक्त बाटो भएर पार गर्न नसकेपछि बाजागाजा सहितको भीड अर्को बाटो भएर जाँदै गर्दा स्थानीय समुदायले अवरोध गरेपछि विवाद शुरु भएको थियो।

तराई क्षेत्रमा बडादशैं र तिहारको लागि हिन्दु समुदायले स्थापना गरेको दुर्गा र लक्ष्मीका मूर्तिहरु दशैं र तिहार सकिएपछि स्थानीय नदी तथा तलाउमा विसर्जन गरिन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्