२० करोड मान्छेको ज्यान लिने प्लेगको दुई हजार वर्षको इतिहास

0
18

सुरूमा जीउ कटकटी खायो।

त्यसपछि सानो केराउको दानाजात्रा गिर्खाहरू देखा परे। विस्तारै ती गिर्खा स्याउजत्रै ठूलो हुँदै छालाको पत्र फुटाएर उछिट्टिएलाझैं भयो। जसै रोग जीउभरि फैलियो, बिरामीहरूले रगत बान्ता गर्न थाले।

अन्तिम चरणमा, रोग लागेकामध्ये धेरै जना मृत्युको मुखमा पुगे।

चौधौं शताब्दीमा युरोपभरि फैलिएको ‘ब्ल्याक डेथ’ अर्थात् प्लेग रोगलाई यसैगरी वर्णन गरिन्छ। यो मानव इतिहासकै ठूला महामारीमध्ये एक हो, जसले युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लियो।

आज धेरैले प्लेगलाई मध्यकालीन इतिहासको कालो अध्यायका रूपमा लिन्छन्। यो त्यति बेलाको कुरा हो, जब डाक्टरहरूलाई भाइरस वा ब्याक्टेरियाबारे अत्तोपत्तो थिएन। आधुनिक चिकित्सा विज्ञानको निम्ति भने प्लेग कुनै गम्भीर विषय होइन। यसलाई धेरैले इतिहासको एउटा घटनाका रूपमा मात्र लिएका छन्। न प्लेग फैलिनुको कारणबारे बहस हुन्छ, न यो रोग कसरी फैलियो र कहाँबाट सुरू भयो भन्ने चर्चा गरिन्छ।

जुन रोगले सयौं वर्ष मानव सभ्यताको नीब हल्लाउने गरी गहिरो प्रभाव पार्‍यो, त्यो रोगबारे अझै पनि हामीलाई धेरै कुरा थाहा छैन।

दुई हजार वर्षको इतिहास हेर्ने हो भने, संसारमा प्लेगका तीन ठूला महामारी फैलिएका छन्, जसले करिब २० करोड मान्छेको ज्यान लिएको छ।

पहिलो महामारी छैठौं शताब्दीमा फैलिएको थियो। त्यति बेला ‘बाइजानटाइन’ भनिने पूर्वी रोमन साम्राज्यमा सम्राट जस्टिनियन प्रथमको शासन थियो। दोस्रो महामारी चौधौं शताब्दीमा एसियाबाट सुरू भएर मध्यकालीन युरोपभरि फैलियो, जसलाई ‘ब्ल्याक डेथ’ का रूपमा चिनिन्छ। र, तेस्रो महामारी उन्नाइसौं शताब्दीमा चीनबाट सुरू भएर एसियाका अन्य भाग र अमेरिकासम्म फैलियो।

त्यो समय यस्ता महामारीको जैविक वा वैज्ञानिक पक्षबारे मान्छे अन्जान थिए। धेरैलाई ‘मान्छेको पाप पखाल्न ईश्वरले रोगको हतियार प्रयोग गरेका हुन्’ भन्ने लाग्थ्यो।

बीसौं शताब्दीमा आइपुगेपछि बल्ल वैज्ञानिकहरूले यी तीनैवटा महामारीको कारण पत्ता लगाए। साना स्तनधारी जनावर र उपियाँमा पाइने ‘यर्सिनिया पेस्टिस’ नामको ब्याक्टेरियाबाट प्लेग रोग फैलिएको निष्कर्षमा वैज्ञानिकहरू पुगे।

यी ब्याक्टेरिया विभिन्न थरीका थिए। तीमध्ये एउटा फोक्सोको संक्रमणसँग सम्बन्धित थियो, अर्कोले शरीरका विभिन्न भागमा गाँठागुँठी र ठूल्ठूला घाउ बनाउँथ्यो।

सन् १८९० आसपास हङकङमा घुमिरहेका प्लेग निरीक्षक। तस्बिर स्रोतस् सिएनएन
सन् १९७० र १९८० दशकमा आएर इतिहासकार तथा जीव–वैज्ञानिकहरूले नयाँ कुरा औंल्याए। उनीहरूका अनुसार, दोस्रो महामारीले तेस्रोभन्दा फरक प्रतिक्रिया देखायो र धेरै मान्छेको ज्यान लियो। यही आधारमा इतिहासकार विन्स्टन ब्ल्याक ‘दोस्रो महामारीको कारण अर्कै रोग हुन सक्ने’ बताउँछन्।

‘चौधौं शताब्दीमा मध्यकालीन युरोपमा फैलिएको महामारी प्लेग होइन कि भन्ने कुरा उठेको छ,’ सयौं शताब्दीदेखि मानव सभ्यताले भोगेका महामारीबारे किताब लेखिरहेका इतिहासकार ब्ल्याक भन्छन्, ‘त्यो एन्थ्राक्स वा प्रारम्भिक चरणको इबोला पनि हुनसक्छ।’

‘एन्थ्राक्स’ भनेको गाईवस्तुबाट फैलिने ब्याक्टेरिया संक्रमण हो, जसले मान्छेको छाला र फोक्सोमा असर पार्छ। इबोला भाइरसले केही वर्षअघि अफ्रिकामा सयौं व्यक्तिको ज्यान लिएको थियो।

महामारी अन्वेषणमा सन् २००० को दशक कोशेढुंगा साबित भयो, जब वैज्ञानिकहरूले मध्यकालीन अस्थिपञ्जरका अवशेषबाट ब्याक्टेरियाको प्राचीन ‘डिएनए’ निकाल्ने क्षमता विकास गरे।

प्लेग संक्रमित अस्थिपञ्जरबाट निकालिएको डिएनएमा वैज्ञानिकहरूले ‘यर्सिनिया पेस्टिस’ ब्याक्टेरियाकै अवशेष फेला पारे। यसले अर्को प्रश्न जन्मायो– रोग फैलाउने ब्याक्टेरिया उही हो भने, किन दोस्रो महामारीले बढी मान्छेको ज्यान लियोरु

यसमा दुइटा कारण हुनसक्थ्यो — पहिलो, मध्यकालीन समयमा मान्छे सरसफाइमा ध्यान दिँदैनथे। दोस्रो, उनीहरू सानो ठाउँमा एकअर्कासँग एकदमै नजिक बसोबास गर्थे। यी दुवै अवस्थामा ब्याक्टेरिया फैलिने खतरा बढी थियो।

इतिहासकार विन्स्टन ब्ल्याक भने यसले मात्र दोस्रो महामारीको पूर्ण व्याख्या नगर्ने बताउँछन्।

‘सरसफाइ र बसोबासको कारण मात्र दोस्रो महामारी भयानक भएको मान्ने हो भने अरू महामारी फैलिँदा पनि हाम्रो अवस्था खासै भिन्न थिएन,’ उनले भने, ‘तर त्यति बेला चौधौं शताब्दीमा जस्तो तीव्र गतिले धेरै मान्छे मरेनन्।’

यसले ‘ब्ल्याक डेथ’ का सम्बन्धमा थप प्रश्न जन्माएको छ।

करिब एक दशकअघि केही वैज्ञानिकले २ हजार ६ सय वर्षभन्दा अगाडि पूर्वी एसियाबाट प्लेग रोग सुरू भएको हुनसक्ने तर्क गरे। उनीहरूका अनुसार, दोस्रो महामारी सुरूमा चीनमा फैलिएको र त्यहाँबाट ‘सिल्क रोड’ हुँदै युरोप पुगेको हुनसक्छ। ‘सिल्क रोड’ भनेको चीन र युरोप जोड्ने प्राचीन व्यापार मार्ग हो।

उनीहरूले यो पनि भने, ‘पन्ध्रौं शताब्दीमा विश्व भ्रमणमा निस्केका चिनियाँ अन्वेषक झेङ हेले यो रोग अफ्रिकामा फैलाएको हुनसक्छ।’ ती चिनियाँ अन्वेषकलाई इटालीका मार्को पोलोसँग तुलना गरिन्छ।

चिनियाँ अन्वेषक झेङ हे ९१३७१(१४३५० ले संकलन गरेको विश्व नक्सा। स्रोतस् सिएनएन
प्लेगमाथि वैज्ञानिकहरूको खोज यतिमै सकिन्न।

थप अनुसन्धान गर्दै जाँदा प्लेगको इतिहास त्योभन्दा पछाडि धकेलिएको छ। प्लेग फैलाउने ब्याक्टेरियाको डिएनए विश्लेषणबाट यो रोग हामीले सोचेभन्दा धेरै नै अगाडिदेखि रहेको पत्ता लागेको छ। डिएनए विश्लेषणका आधारमा वैज्ञानिकहरू भन्छन्, ‘यो रोग करिब पाँच हजार वर्षअघि नै युरोपमा थियो।’

यस आधारमा, दोस्रो महामारी चीनबाट फैलिएको हुनसक्छ भन्ने तर्क मान्न नसकिने विन्स्टन ब्ल्याकको भनाइ छ।

उनका अनुसार, मध्यकालीन प्लेग संक्रमित अस्थिपञ्जरको डिएनए र त्यसमा प्राप्त ब्याक्टेरिया अवशेषको जैविक विश्लेषण गर्दा प्लेग रोगको सुरूआत मध्य एसियाबाट भएको हुनसक्छ। ‘त्यहाँबाट यो रोग पूर्व फैलिँदै चीन पुग्यो,’ उनले भने, ‘चीनबाट प्राचीन व्यापार मार्ग हुँदै पश्चिम र युरोपसम्म पुग्यो।’

उनले अगाडि भने, ‘दोस्रो महामारी चीनबाटै फैलिएको मान्ने हो भने पनि चिनियाँ अन्वेषक झाङ हेले यो रोग अफ्रिकासम्म फैलाएको तर्क कुनै हालतमा मान्न सकिन्न। झाङ हेले आफ्नो जहाजमा प्लेग संक्रमित मुसा बोकेका हुन्थे त, अफ्रिका पुग्नुअघि नै जहाजका सबै जनाको मृत्यु भइसकेको हुन्थ्यो।’

जसरी दोस्रो महामारीलाई लिएर अनेक प्रश्न र शंका गरिन्छ, तेस्रो महामारीबारे खासै धेरै विवाद छैन।

उन्नाइसौं शताब्दीको यो महामारी चीनबाट फैलिएको हो भन्नेमा वैज्ञानिकहरू कुनै दुबिधा मान्दैनन्। यो रोग अहिलेको दक्षिणपश्चिमी प्रान्त युनानबाट फैलिएको उनीहरूको भनाइ छ। युनानबाट यसले हङकङको बाटो समात्यो। हङकङ त्यति बेला बेलायती उपनिवेश थियो। त्यहाँबाट प्राचीन व्यापार मार्ग टेकेर एसियाका अन्य भाग र अमेरिकासम्मको दुरी तय गर्‍यो।

‘ब्याक्टेरियाले चीनबाट बाहिरी संसारसम्म यात्रा गर्ने बाटो यही हो भन्नेमा कुनै दुबिधा छैन,’ हङकङ विश्वविद्यालयबाट प्लेगको इतिहासबारे विद्यावारिधि गरिरहेका ज्याक ग्रिटरेक्सले भने।

यसरी फैलिएको ब्याक्टेरियाले तेस्रो विश्वव्यापी प्लेग महामारीको रूप लियो।

चीनको भविष्यलाई नयाँ ढंगमा अघि बढाउन मद्दत गर्ने महामारी भने अर्कै थियो। सन् १९१० दशकमा चीनको उत्तरपूर्वी मन्चुरिया प्रान्तमा सुरू प्लेगको अर्को महामारीले हजारौंको ज्यान लियो। मान्छेको फोक्सोमा संक्रमण गर्ने यो ब्याक्टेरियाले निमोनियाका लक्षण देखाएको थियो।

त्यो समय चीनका केही भाग विदेशी शक्तिले ओगटेका थिए। त्यसमा रुसी र जापानी साम्राज्य प्रमुख थिए। मन्चुरियाको प्लेग अरू ठाउँतिर सल्किन नदिई व्यवस्थित ढंगले नियन्त्रण गर्न आफूहरू सक्षम रहेको उनीहरूको दाबी थियो।

‘चीनमा सुरक्षा जोखिम मडारियो,’ ओक्लोहामा विश्वविद्यालयका प्राध्यापक तथा चीनमा जनस्वास्थ्य अध्ययन गरेका मिरियम ग्रसले भनिन्, ‘विदेशी शक्तिको उपनिवेशलाई त्यसले वैधानिकता दिन सक्थ्यो।’

सन् १९४९ मा जब आधुनिक चीनका निर्माता माओ–त्से–तुङ शक्तिमा आए, उनले रोग नियन्त्रणलाई आफ्नो मुख्य प्राथमिकता बनाए। उनले यसो गर्नुमा विभिन्न कारण थिए, ग्रस भन्छिन्, ‘मुख्य कारण त, चीन आफ्नो आन्तरिक मामिला आफैं व्यवस्थापन गर्न सक्षम छ र यस्ता महामारी नियन्त्रण गर्न विदेशी सहयोगको खाँचो पर्दैन भनेर उनी संसारलाई देखाउन चाहन्थे।’

माओले रोगव्याधी नियन्त्रण गर्न थुप्रै उपाय अपनाए। उनको सबभन्दा चर्चित र अस्वाभाविक प्रस्ताव ‘चार जीव नियन्त्रण अभियान’ थियो, जसमा माओले रोगव्याधी फैलाउन सक्ने मुसा, झिंगा, लामखुट्टे र भंगेरा समुल नष्ट गर्न आह्वान गरेका थिए।

माओको यो अभियानपछि दसौं लाख जीवजन्तु मारिए। यसले चीनको पर्यावरण असन्तुलित बनाएर भयंकर भोकमरी ल्यायो, जसमा दसौं लाख मान्छेको ज्यान गयो।

चिनियाँ सांस्कृतिक क्रान्तिको प्रचार सामग्रीमा चारवटा जनावर लामखुट्टे, मुसा, झिंगा र भंगेराबारे उल्लिखित पोस्टर। स्रोतस् सिएनएन
पछिल्लो समय चीनले आफ्नो स्वास्थ्य सेवामा व्यापक सुधार ल्याएको छ। अब चीनको जनस्वास्थ्य क्षेत्रमा प्लेगलाई खासै ठूलो समस्या मानिँदैन। तै पनि यसले बेलाबेला आफ्नो फण उठाउँछ। सन् १९८६ देखि २००५ बीच युनान प्रान्तमा प्लेग फैलिएको थियो। पछिल्लोचोटि युनानमै २०१६ मा प्लेगका बिरामी देखिएका थिए।

पछिल्लो छ सय वर्षमा ‘ब्ल्याक डेथ’ जस्तो अर्को कुनै रोग देखिएको थिएन, जसले मानव सभ्यतालाई भित्रैसम्म हल्लाइदिएको होस्। अहिले संसारको कुनै पनि मुलुकका लागि प्लेग खासै ठूलो स्वास्थ्य जोखिम होइन। तर, आज पनि वैज्ञानिक र इतिहासकारहरू नयाँ नयाँ आयामबाट ‘ब्ल्याक डेथ’ को अनुसन्धान गरिरहेका छन्।

‘प्लेगको इतिहास पछ्याउने क्रम जारी छ,’ हङकङ विश्वविद्यालयका ग्रिटरेक्सले भने, ‘हामी प्लेग भन्नेबित्तिकै युरोप तहसनहस पारेको ‘ब्ल्याक डेथ’ सम्झन्छौं। हाम्रो महामारीसम्बन्धी धेरैजसो धारणा त्यसै आधारमा बनेका छन्।’

इतिहासकार विन्स्टन ब्ल्याक भन्छन्, ‘ब्ल्याक डेथ भनेको मध्यपूर्व र युरोपको इतिहासमा कहिल्यै नमेटिने सम्झनाका रूपमा बसेको छ।’

‘यो हाम्रो अतीतको यस्तो हिस्सा हो, जसले हामीलाई आजसम्म झक्झकाउँछ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्