मुख्यमन्त्रीलाई शिरै ढाक्ने गुराँसको माला

0
96

सोलुखुम्बु : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको शिर गुराँस फूलको मालाले ढाकिन्थ्यो। उनका सहयोगीले हटाउँथे, फेरि उस्तै हुन्थ्यो । यो महाकुलुङ गाउँपालिका १ बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पताल उद्घाटनका लागि आइपुगेका मुख्यमन्त्री स्वागतको दृश्य हो ।

स्थानीय जंगलमा फुलेका गुराँसका फूल र पातबाट गाँसिएका आकर्षक माला र फूलसहित करिब ७ सय विद्यार्थी लामबद्ध थिए । हेलिप्याडबाट कार्यक्रम स्थल पुग्दा झण्डै आधा घण्टा मुख्यमन्त्रीको स्वागतमा बितेको थियो ।

गलाबाट चाङ लाग्न सुरु हुने मालाले उनको शिर पुरै छोप्थ्यो, मुख्यमन्त्री राई भन्थे, ‘टोपी बिग्रियो ।’ उनका सहयोगीले माला हटाएर स्थानीय कार्यकर्ताको हातमा थमाउथे, मुख्यमन्त्रीले टोपी मिलाउन नपाउदै गलामा माला थपिन्थ्यो, फेरि, एकैछिनमा शिर ढाकिन्थ्यो, यो क्रम दर्जन बढी पटकसम्म दोहोरिरहेको थियो ।

पहिलो पटक आफ्नो गाउँमा मुख्यमन्त्री आउने कुराले उनीहरू खुसी देखिन्थे । मुख्यमन्त्री राईको साथमा प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेत पनि थिए  ।

खाजामा पिँडालु र सक्खर

कार्यक्रममा उपस्थित सर्वसाधारणलाई तरकारी र चिउरा खाजाको व्यवस्था मिलाएको आयोजकले मुख्यमन्त्री राई लगायतलाई खाजामा नुन चियासहित उसिनेको पिँडालु र सक्खर दिएका थिए ।

महाकुलुङबासीले सम्मान भावले दिएको स्थानीय उत्पादनलाई मुख्यमन्त्रीले सहज रुपमा लिए । अन्य अतिथिले मन्तव्य राख्दै गर्दा उनले मन्चमै पिँडालु खाएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्