५० प्रतिशत हत्या आफन्तबाटै सम्पत्ति र सम्बन्ध मुख्य कारण

0
69

गत वर्ष हत्या भएका ६ सय ६९ मध्ये तीन सय ३० आफन्तबाटै

घटना १ : रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्सा टोलका २५ वर्षीय राजकुमार पण्डित त्यतिवेला छाँगाबाट खसेझैँ भए, जब श्रीमतीसँग आफ्नै बुवा आपत्तिजनक अवस्थामा भेटिए । आवेग थाम्न सकेनन् । हथौडा निकालेर ६५ वर्षीय बुवा फेकनको टाउकामा प्रहार गरे । रक्ताम्मे अवस्थामा ढलेर छटपटाएका बुवाप्रतिको रिस अझै मरेन, घाँटीसमेत काटिदिए । २८ माघमा घटना गराएर फरार उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

घटना २ : २७ माघमा पूर्वसचिव अर्जुन कार्कीको ललितपुर सानेपास्थित घरमा ४९ वर्षीया श्रीमती मुना कार्की र घरेलु कामदार २२ वर्षीय विजय चौधरी डाइनिङ हलमा मृत भेटिए । प्रहरीको अनुसन्धानमा खुल्यो– विजयले सुरुमा मुनाको हत्या गरे, त्यसपछि पासो लगाएर आत्महत्या गरे ।

घटना ३ :  १५ असारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा सावित्री भट्टराईको हत्या भयो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ५ की ६१ वर्षीया सावित्री भक्तपुरमा कान्छी छोरी ईश्वरीको घरमा बस्थिन् । अनुसन्धानमा खटिएका प्रहरी तब चकित परे, जब हत्याको मुख्य योजनाकार छोरी नै रहेको खुल्यो । प्रहरी घटनास्थलमा पुग्दा सबैभन्दा विक्षिप्त ईश्वरी नै देखिन्थिन् । अचेत अवस्थाकी उनलाई होसमा ल्याउन आफन्तहरू पानी छर्किँदै थिए । तर, यो सब नाटक भएको प्रहरी अनुसन्धानमा खुल्यो । उनले आमाको हत्या गर्नुको कारण थियो– परपुरुषसँगको सम्बन्ध । सिराहाको कल्याणपुर नगरपालिका–४ का २३ वर्षीय मोहम्मद नौसादसँग ईश्वरीको अवैध सम्बन्ध थाहा पाएपछि सावित्रीले सचेत गराएकी थिइन् । यही झोँकमा ईश्वरीले पेसेवर हत्यारालाई १२ लाख सुपारी दिएर आमाको हत्या गराइन् ।

घटना ४ : ०७५ चैतमा संखुवासभाको खाँदबारी नगरपालिका–११ खाइसोङमा ६२ वर्षीय भुवनसिंह राई मृत भेटिए । प्रहरी अनुसन्धानमा खुल्यो, हत्या उनकै काइँला छोरा सञ्जय राईले गरेका रहेछन् । हत्याको कारण पारिवारिक विवाद रहेको प्रहरी अनुसन्धानमा देखियो ।

घटना ५ : १७ असार ०७४ मा सुर्खेतको गुर्भाकोट नगरपालिका–१६ पण्डितकाल्नानिवासी २० वर्षीय रणबहादुर सुनारले बुवा अमर सुनारको हत्या गरे । घरायसी विवादमा छुरा प्रहार गरेर हत्या गरेका थिए ।

हत्याका घटना हरेक वर्ष बढ्दो

हत्याका घटना हरेक वर्ष बढ्दो दरमा छन् । दैनिक औसत दुईजनाको हत्या हुन्छ । अझ गम्भीर पक्ष त हत्याका ५० प्रतिशत घटना आफन्तबाटै भएका छन् । आर्थिक वर्ष ०७५/७६ मा देशभर हत्या भएका ६ सय ६९ व्यक्तिमध्ये ३ सय ३० जना आफन्तबाटै मारिएको प्रहरी तथ्यांक छ । मारिने र मर्ने छोरा, छोरी, बुवा, श्रीमती र श्रीमान् सम्बन्धकै छन् । आफन्तबाटै भएका हत्यामा सम्पत्ति र सम्बन्ध मुख्य कारण रहेको पनि अनुसन्धानमा खुलेको छ । क्षणिक आवेग व्यवस्थापन गर्न नसक्दा गम्भीर घटना भएको प्रहरी बताउँछ ।

‘मुलुकभर हत्या घटना बढेका छन् । घटनामा पीडित र पीडक परिवारभित्रकै वा चिनेजानेकै छन् । अधिकांशमा बाबु, छोरा, आमा, छोरी, श्रीमान् र श्रीमती नै संलग्न देखिन्छन्,’ प्रहरी प्रवक्ता डिआइजी शैलेश थापाले भने, ‘ती हत्या योजनाबद्धभन्दा पनि क्षणिक आवेगका परिणाम हुन् । मुख्य कारण सम्पत्ति र सम्बन्ध नै देखिन्छ, अनुसन्धानमा त्यही देखिएको छ ।’

प्रहरी तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा देशभर हत्याका तीन हजार एक सय नौ घटना भएका छन् । यी घटनामा तीन हजार एक सय ७९ ले ज्यान गुमाएका छन् । बालकसहित एक हजार आठ सय ७५ पुरुष छन् भने बालिकासहित एक हजार ९३ महिला छन् । त्यस्तै, बालिकासहित एक हजार तीन सय चार महिला छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्