हरिवनको क्यान्सर प्रभावित गाउँमा पानी परीक्षण सुरु

0
74

सर्लाहीको हरिवन नगरपालिका–५ स्थित क्यान्सर पीडित गाउँमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले पानी परीक्षण सुरु गरेको छ ।

शुक्रबार नयाँ पत्रिका दैनिकमा ‘सिंगो गाउँमा क्यान्सर प्रकोप : ३० महिनामा २६ जनाको मृत्यु, प्रदुषित पानीले क्यान्सर भएको आशंका’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशन भएको भोलिपल्ट शनिबार बिहानै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिडिई राजेश कुशवाह पानी परीक्षण घुम्ती टोली लिएर गाउँमा पुगेका हुन् ।

गाउँमा पानीको कारण क्यान्सर भएको आशंका शीर्षकको समाचार नयाँ पत्रिकामा प्रकाशित भएपछि इन्जिनियर र प्राविधिकसहितको टोली लिएर गाउँमा आएको कुशवाहले बताए । ‘पत्रिकामा समाचार आएलगत्तै विभागबाट हिजो पानी परीक्षणका लागि खबर आएको थियो,’ उनले भने, ‘पानी परीक्षण किटलगायतका सामानको व्यवस्थापन गर्दा आज मात्र यहाँ आउन सम्भव भयो ।’ पानी परीक्षण गर्न प्राविधिकसहित कर्मचारीहरू गाउँमा आएपछि स्थानीय हर्षित देखिएका थिए ।

सर्लाहीको हरिवन नगरपालिका–५ स्थित आधा दर्जन गाउँमा क्यान्सरको प्रकोप देखिएको छ । ती गाउँहरूमा क्यान्सरका कारण ३० महिनामा २६ जनाको मृत्यु भइसकेको छ, भने झण्डै डेढ दर्जन क्यान्सरको बिमारी तथा आशंकामा विभिन्न अस्पतालमा उपचार गराई रहेका सोही वडाका वडाध्यक्ष नागेन्द्र साहले दावी गरे । ‘क्यान्सरले गाउँ नै आक्रान्त बनिसकेको छ,’ उनले भने, ‘समस्या समयमै समाधान नभए अवस्था भयावह हुन सक्छ ।’

पानीमा आर्सेनिक अत्याधिक
गाउँमा रहेको चापाकलहरूको पानीमा अत्याधिक मात्रामा आर्सेनिक फेला परेको छ । परीक्षणको क्रममा चापाकलबाट संकलन गरेको पानीको नमुनाबाट ०.०६३ मिलिग्रामसम्म आर्सेनिक फेला परेको विभागका कर्मचारी मनोज अधिकारीले जानकारी दिए । सामान्यतया मानव स्वास्थ्यको हिसाबले ०.०१ सम्मको पानी अत्यावश्यक अवस्थामा प्रयोग गर्न सकिने अधिकारीको भनाइ छ । पूरै गाउँमा रहेको चापाकल तथा स्थानीयले प्रयोग गर्ने पानीको स्रोतबाट नमूना पानी संकलन गरिएको र उक्त पानीको आर्सेनिकसहित २७ थरीका पारामिटर परीक्षण गरिने विभागले जनाएको छ ।

‘विश्व स्वास्थ्य संगठनले मानिसले प्रयोग गर्ने पानीमा आर्सेनिकको मात्रा शून्य हुनुपर्ने उल्लेख गरेको भए पनि नेपालको परिप्रेक्ष्यमा ०.०१ मिलिग्रामसम्मलाई सामान्य मानिन्छ,’ उनले भने, ‘त्यसभन्दा धेरै आर्सेनिक भएको पानीले विस्तारै क्यान्सरसम्म गराउन सक्छ ।’ आर्सेनिक पानीको कारण हालसम्मको अनुसन्धानमा खुट्टाको पैतालाबाट क्यान्सर भएको पाइएको उनको भनाइ छ ।

तत्काल शुद्ध पानीको व्यवस्था गरिने 
ती गाउँहरूमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले तत्काल शुद्ध खानेपानीको व्यवस्था गर्ने भएको छ । पानीमा देखिएको आर्सेनिकका कारण स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै उनीहरूलाई तत्काल शुद्ध खानेपानीको व्यवस्था गरिने आयोजनाका सिडिई राजेश कुशवाहले बताएका छन् । वडामा खानेपानीको ठूला परियोजनासमेत सञ्चालन भइरहेकाले तत्कालका लागि गाउँको दक्षिण क्षेत्रमा ठूलो बाोरिङ गरेर मेसिनमार्फत प्रभावित गाउँमा शुद्ध पानी वितरण गर्ने योजना रहेको उनले बताए ।

‘हामीले पानीको रिपोर्ट र गाउँको अवस्था हेरेर केन्द्रमा रिपोर्टिङ गरिसकेका छौँ,’ आयोजनाका इन्जिनियर गंगाप्रसाद महतोले भने, ‘आजभोलिबाटै गाउँमा कसरी शुद्ध पानी वितरण गर्न सकिन्छ ? त्यसरी काम सुरु गर्छौँ ।’ आर्सेनिक देखिएका धारा, चापाकलको पानी तत्काल खान बन्द गर्नुपर्ने अवस्था रहेको महतोले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्