बालमस्तिष्कमा चलचित्रको असर

0
50

बालमस्तिष्कमा चलचित्रको असर

सन् २००६ मा रिलिज भएको ऋतिक रोशन स्टारर बलिउड फिल्म ‘क्रिस’ सुपरहिट भयो । तर, विडम्बना त्यही फिल्म हेरेर आठ वर्षीय शिवम नामक बालक ‘क्रिस’जस्तै बन्न पटनाको अपार्टमेन्टस्थित पाँचौँ तलाबाट हाम फाले । भाग्यवश उनी मृत्युबाट बाँचे ! यस फिल्ममा मुख्य पात्र ‘क्रिस’लाई ‘सुपर ह्युमन’ (आममानिसभन्दा फरक) देखाइएको छ ।

जन्मँदा सबै बच्चा खाली दिमागका हुन्छन् । हुर्किंदै जाँदा बच्चाले कुनै कुरा सुन्छ, देख्छ र हेर्छ अनि त्यस्तै गर्न खोज्छ । आधुनिक युगमा चलचित्रले बालबालिकामा ठूलो प्रभाव पार्छ । आज बच्चाले झगडा नगरून् वा उनीहरूलाई छिटै फकाउन सकियोस् भनेर अभिभावकले नै उनीहरूलाई मोबाइल थमाइदिन्छन् । जसकारण, बच्चाले सहजै जस्तासुकै फिल्म पनि हेर्छन् ।

बालमस्तिष्क निकै कोमल र संवेदनशील हुन्छ । त्यसैले चलचित्रको विषयवस्तु र दृश्यले उनीहरूमा छिटो असर गर्छ । बच्चाहरूमा बनावटी र यथार्थ के हो भनेर बुझ्ने क्षमता कम हुन्छ । त्यसैले उनीहरू चलचित्र हेरेर काल्पनिक संसारमा डुब्ने गर्छन् । बालमनोविद् डा. गोपाल ढकाल भन्छन्, ‘बालबालिकामा के सही र के गलत भनेर छुट्याउने क्षमता हुँदैन । उनीहरू फिल्म हेरेपछि साँच्चै हो भन्ने ठानेर त्यसैको कपी गर्न खोज्छन् । जस्तै, हिरोको स्टाइलमा कपाल काट्ने, हिरोले जसरी हिँड्न र बोल्न खोज्ने, हिरोइनजस्तै ड्रेसअप गर्ने आदि ।’

यस्ता दृश्य हानिकारक 
एक्सन फिल्मले बच्चामा झगडा गर्ने स्वभाव विकास गर्न सक्छ । फिल्ममा देखाइने हत्या, हिंसा, बलात्कार, हामफालेका दृश्य, घरपरिवारमा झगडा गरेको, महिलालाई होच्याउने शब्दहरूलगायतले बच्चामा नकारात्मक असर गर्छ । हरर फिल्मले त्रास फैलाउँछ । फिल्म हेरेर राति डराउने, नसुत्ने, झस्किने, अभिभावकलाई छोड्नै नमान्ने, स्कुल जान नमान्ने, हिंसात्मक गतिविधि देखाउने, ठूलाले सानालाई पिट्ने तथा यौनहिंसा गर्ने, एक्लै जबर्जस्ती गर्न खोज्ने आदि लक्षण बालबालिकामा देखा पर्न सक्छन् ।

फिल्ममा देखिएका सामान किनिदिन अभिभावकसँग जिद्दी गर्ने स्वभाव पनि देखिन्छ । हिरोले गाँजा–चुरोट वा मदिरा सेवन गरेको देखेर त्यस्तै सिको गर्ने प्रवृत्ति पनि कम छैन । फिल्ममा देखाइएको बालबालिकाबीचको प्रेमले पनि रियल जीवनमा असर गर्न सक्छ । मनोविद् ढकाल भन्छन्, ‘अहिले सानैमा ५–६ क्लासमा पढ्ने बच्चाले समेत लभ गर्छन् । म त्यसलाई मन पराउँछु, म त्योसँग बिहे गर्छु भन्छन् । यस्तो भन्ने उनीहरूको उमेर होइन, यहाँ फिल्मको प्रभाव पनि कहीँ न कहीँ परेको छ ।’

फिल्म बनाउनेले कसरी फिल्म चलाउन सकिन्छ भन्ने पक्षलाई बढी जोड दिन्छन् । बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर कमै मात्र फिल्म बनेका छन् । वयस्कलाई लक्षित गरेर बनाइएका फिल्मले बालबालिकामा नकारात्मक प्रभाव पार्न सक्छ । ढकाल भन्छन्, ‘यो विषयमा निर्माता, राज्य र चलचित्र विकास बोर्डले समेत ध्यान दिएको छैन । निर्माताले फिल्मको व्यावसायिक पक्षसँगै बालबालिकामा त्यसले कस्तो प्रभाव पार्छ भनेर पनि बुझ्न जरुरी छ ।’

बालमस्तिष्क निकै कोमल र संवेदनशील हुन्छ । त्यसैले चलचित्रको विषयवस्तु र दृश्यले उनीहरूमा छिटो असर गर्छ । बच्चाहरूमा बनावटी र यथार्थ के हो भनेर बुझ्ने क्षमता कम हुन्छ । त्यसैले उनीहरू चलचित्र हेरेर काल्पनिक संसारमा डुब्ने गर्छन् ।

के गर्ने ?
बालबालिकाले चलचित्र हेरेर मनोविज्ञान निर्माण गरिरहेका हुन्छन् । त्यसैले चलचित्रलाई नाटक वा ठट्टाको रूपमा होइन, गम्भीर रूपमा लिनुपर्छ । शैक्षिक र उत्प्रेरणा दिने खालका चलचित्र बनाउन सके बालबालिकाले त्यसलाई हेरेर सकारात्मक सोच विकास गर्न सक्छन् । ढकाल भन्छन्, ‘विदेशमा स्टोरी पास गर्नुअघि बालमनोविज्ञलाई एकपटक देखाइन्छ ।

एक्सन, भय सिर्जना गर्ने, अश्लील दृश्यहरू काटछाँट गरिन्छ । कुनै पनि स्क्रिप्टलाई फाइनल गर्नुअघि त्यसले दर्शकमा पार्ने असरबारे बुझ्न मनोविज्ञलाई देखाउनुपर्छ । नेपालमा यस्तो गर्ने हो भने धेरै समस्या समाधान हुन्छ । निर्माता र राज्यले यसबारे सोच्न जरुरी देखिन्छ ।’

बालाबलिकाका अगाडि कस्ता चलचित्र हेर्ने भनेर अभिभावक आफैँ पनि सचेत हुन जरुरी छ । सन्देशमूलक, ऐतिहासिक र शैक्षिक चलचित्रहरू छनोट गरेर बालबालिकालाई देखाउनुपर्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्